२०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

जडिबुटी संकलन गर्न पुगेका एकको मृत्यु, नौ जना बेपत्ता


१५०९ पाठक संख्या
  • २०८३ आश्विन ११, आईतबार मा प्रकाशित ९ घण्टा अघि
  • ११ असोज, सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गर्न पुगेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।

    मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।

    प्रहरीका अनुसार गत भदौ २८ गते मुगुम कार्मारोङ गाउँपालिका–९ का १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए। उनीहरूले जडिबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि उनीहरू फर्किएका थिए।

    फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा पुगेपछि बुढाको मृत्यु भएको प्रहरीको प्रारम्भिक जानकारी छ। घटनास्थल उच्च हिमाली क्षेत्रमा रहेकाले अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय सम्पर्कविहीन छन्।

    त्यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

    यता, स्थानीयवासी शेरबहादुर बुढाका अनुसार सोही समूहमा रहेका पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्।

    सीमाक्षेत्रमा विवादपछि भागाभाग

    स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडिबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडप भएको थियो। असोज १० गते झडप भएको बताइएको छ।

    मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसहरूले लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन्। यद्यपि, घटनाको वास्तविक अवस्था र झडपको कारणबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाएको छ।

    घटनाबारे जानकारी पाएलगत्तै मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए। उनका अनुसार घटनास्थल अत्यन्तै अग्लो हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा चुनौती देखिएको छ।

    ‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ डीएसपी थपलियाले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’

    मिनी क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था पत्ता लगाउन दुवै जिल्लाका सुरक्षा निकायले समन्वय गरी खोजी तथा अनुसन्धान अघि बढाएका छन्।

    सम्पर्कविहीन नौ जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। प्रतिकूल मौसम र बाक्लो हिमपातका कारण खोजी कार्य प्रभावित भए पनि उनीहरूको अवस्थाबारे यथार्थ जानकारी लिन सुरक्षा निकायले प्रयास जारी राखेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑