२०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

हिम्लुङ हिमालमा हिमपहिरो : दुई शव भेटिए, बेपत्ताको खोजी जारी


११७१ पाठक संख्या
  • २०८३ आश्विन १२, सोमबार मा प्रकाशित २0 घण्टा अघि
  • १२ असोज, पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको सोमबार बिहानैदेखि हेलिकप्टर र उद्धार टोलीमार्फत खोजी भइरहेको छ।

    हिमपहिरोमा परी १० जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि यकिन संख्या अझै स्पष्ट हुन नसकेको मनाङ प्रशासनले जनाएको छ। घटनापछि विभिन्न स्रोतबाट फरक–फरक तथ्यांक आइरहेकाले सम्पर्कविहीनको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।

    आइतबार घटनास्थलमा खटिएको उद्धार टोलीले दुई जनाको शव फेला पारेको थियो। ती शव चामे ल्याइसकिएको र सोमबार हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको पौडेलले जानकारी दिए।

    उनका अनुसार उद्धारका लागि तीन जनाको टोली आइतबार नै घटनास्थलमा पुगेको थियो। सोही टोलीले दुई जनाको शव फेला पारेपछि फर्किएको थियो। सोमबार बिहान थप तीन जना उद्धारकर्मी हेलिकप्टरमार्फत घटनास्थलतर्फ पठाइएको छ।

    “आज बिहानैदेखि खोजी सुरु भइसकेको छ। अनुभवी गाइडहरूलाई समेत खोजीमा परिचालन गरिएको छ। मौसम खुलेकोले उद्धार तथा खोजीमा सहज हुने अपेक्षा छ,” पौडेलले भने।

    हिमपहिरोपछि सम्पर्कविहीन भनिएका ११ जना हिँडेर फू गाउँसम्म आइपुगेको प्रशासनले जनाएको छ। यसले प्रारम्भिक रूपमा सार्वजनिक भएको सम्पर्कविहीनको संख्यामा थप स्पष्टता आवश्यक देखिएको छ।

    सोमबार बिहान मनाङको मौसम पूर्ण रूपमा खुलेको र आकाशमा बादलसमेत नरहेको प्रशासनले जनाएको छ। मौसम अनुकूल भएकाले हेलिकप्टरबाट खोजी तथा उद्धारलाई तीव्रता दिइएको छ। खोजी तथा उद्धारमा प्रभु एयरको हेलिकप्टर प्रयोग भइरहेको पौडेलले बताए।

    हिम्लुङ हिमाल मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमाल हो। आइतबार नार्पाभूमि गाउँपालिका–५ क्षेत्रमा हिमपहिरो खसेपछि त्यहाँ रहेका आरोही तथा सहयोगीहरू प्रभावित भएका हुन्। खोजी तथा उद्धार अभियान जारी रहेकाले सम्पर्कविहीनको वास्तविक संख्या र घटनाको थप विवरण क्रमशः खुल्ने प्रशासनले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑