लमजुङ । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै लमजुङतर्फ मर्स्याङ्दी नदी आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार आइतबार साँझ करिब ७ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खुदी, भकुण्डे, पाउदीलगायत नदी आसपासका बस्तीमा माइकिङ गरिएको छ। स्थानीयलाई घरमै नबस्न र नदी किनार तथा आसपासका क्षेत्रमा नजान आग्रह गरिएको छ।
प्रजिअ खनालका अनुसार हाल मर्स्याङ्दी नदीको बहाव केही घटेको भए पनि माथिल्लो क्षेत्रमा घट्टेखोलामा पहिरो झर्ने क्रम जारी छ। पहिरोले खोला थुनिएर एक्कासि ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो।
पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको प्रशासनले जनाएको छ। खोला थुनिएर पानी एक्कासि तल झरे जोखिम अझ बढ्नसक्ने भएकाले स्थानीयलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
जोखिमलाई ध्यानमा राख्दै ७० मेगावाटको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न तथा विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको छ। निर्माणाधीन आयोजनामा कार्यरतलाई समेत सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ।
प्रशासनले मर्स्याङ्दी नदी आसपासका बस्तीका बासिन्दालाई नदी किनारमा नजान, सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस