२०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

निर्वाचन तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक आज


१९५१ पाठक संख्या
  • २०८३ आश्विन १७, शनिबार मा प्रकाशित २0 घण्टा अघि
  • काठमाडौं, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

    रास्वपाका अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन मुख्य एजेन्डाका रूपमा छलफल हुनेछ। स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने तयारीस्वरूप समितिका सदस्य मनोनयनबारे निर्णय लिन लागिएको हो।

    बैठकमा पार्टीका विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन सम्बन्धमा पनि छलफल हुने कार्यसूची रहेको छ। पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित र सक्रिय बनाउने विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।

    त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौं’ अभियानका विषयमा पनि बैठकमा छलफल हुनेछ। अभियानको स्वरूप, सञ्चालन प्रक्रिया तथा पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने विषयमा बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ।

    बैठकमा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट समेत प्रस्तुत गरी छलफल गरिनेछ। संगठनको आर्थिक तथा प्रशासनिक अवस्थासम्बन्धी प्रतिवेदनमाथि समीक्षा गर्ने तयारी गरिएको छ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विविध विषयसमेत कार्यसूचीमा समेटिएका छन्। आजको बैठकले पार्टीको आगामी संगठनात्मक गतिविधि तथा निर्वाचनकेन्द्रित तयारीका विषयमा केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑