काठमाडौँ । हुम्लाको उत्तरी सीमावर्ती हिल्सा क्षेत्रमा अविरल वर्षासँगै भारी हिमपात भएपछि कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ। बाक्लो हिउँका कारण हिल्सा–ताक्लाकोट सडक खण्ड ठप्प हुँदा ४१ जना नेपाली नागरिक नाकामै अलपत्र परेका छन्।
अलपत्र पर्नेमा अधिकांश नाम्खा गाउँपालिका–१, २ र ३ का बासिन्दा छन्। उनीहरू चीनको ताक्लाकोटमा व्यापार–व्यवसाय गर्दै आएका थिए र गत शुक्रबार हिल्सा पुगेका थिए।
हिल्सामा झण्डै अढाइ फिटसम्म हिउँ जमेको अध्यागमन अधिकृत विमल पौडेलले बताए। उनका अनुसार हिमपातपछि चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शनका लागि सीमा आवतजावतमा रोक लगाएको छ। हिल्सास्थित अध्यागमन कार्यालयले अक्टोबर ४ (असोज १८) देखि नाका पुनः सञ्चालनमा आउन सक्ने जनाएको छ।
हिल्सा पुग्ने मुख्य मार्ग नारा लेकमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन चुनौती थपिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार चीनतर्फ सडक सफा गर्ने काम जारी रहे पनि नेपालतर्फको बाटो खुलाउन केही समय लाग्नेछ।
हिल्सामा एउटा मात्र स्काभेटर उपलब्ध हुनुका साथै इन्धनको अभाव हुँदा सडकबाट हिउँ हटाउने काम सुस्त भएको छ। अहिले स्थानीयवासी र सुरक्षाकर्मी मिलेर हिउँ पन्छाउने काम गरिरहेका छन्।
चालु वर्ष हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटक कैलाश मानसरोवर पुगेका छन्। अध्यागमन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। त्यसपछि बेलायत, अमेरिका र नेपालका पर्यटक रहेका छन्।
यात्राको मुख्य मौसम सकिनै लाग्दा भएको अप्रत्याशित हिमपातले पर्यटकसँगै स्थानीय व्यापारीलाई समेत प्रभावित पारेको छ। सीमा क्षेत्रमा आवतजावत रोकिँदा जनजीवनसमेत प्रभावित बनेको छ।
प्रतिक्रिया दिनुहोस