२०८३ आश्विन २३, शुक्रबार | Fri, 09, Oct, 2026

मापदण्डमा अड्कियो एमालेको मनोनयन


९८९ पाठक संख्या
  • २०८३ आश्विन २३, शुक्रबार मा प्रकाशित ९ घण्टा अघि
  • काठमाडौं, २३ असोज । नेकपा एमालेमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्य मनोनयनका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने माग उठेपछि स्थायी कमिटी बैठक लम्बिएको छ । नेताहरूबीच सहमति जुट्न नसक्दा शुक्रबारको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको म्यान्डेटअनुसार मनोनयनको प्रस्ताव अघि सारे पनि वरिष्ठ नेता विद्यादेवी भण्डारीसहितका नेताहरूले निष्पक्ष र न्यायपूर्ण निर्णयका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने अडान राखेका थिए ।

    भण्डारी, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की र राजन भट्टराई तथा स्थायी कमिटी सदस्य ईश्वर पोखरेललगायतले मापदण्ड बनाएर मात्रै मनोनयन गर्नुपर्ने धारणा राखेका थिए ।

    पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले मनोनयनमा निष्पक्षता कायम गर्दै भावनात्मक र वैचारिक एकता बलियो बनाउनुपर्ने भण्डारीको तर्क थियो । उपाध्यक्ष विष्टले पनि निर्णयमा पूर्वाग्रह वा प्रतिशोधको गन्ध आउन नहुने भन्दै न्यायको अनुभूति हुने आधार तय गर्नुपर्ने बताएका थिए ।

    अध्यक्षको प्रस्तावलाई स्वीकारेर अघि बढ्नुपर्ने धारणा राख्ने नेताहरू पनि बैठकमा थिए । यद्यपि, मनोनयनका विषयमा ठोस सहमति जुट्न नसकेपछि बैठक शनिबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो ।

    शनिबारको बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले धारणा राख्ने कार्यसूची छ । त्यसपछि मनोनयनसम्बन्धी केही निर्णय हुन सक्ने नेताहरूको भनाइ छ ।

    एमालेमा १०१ सदस्यीय पोलिटब्यूरो गठन हुन बाँकी छ । विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटीमा १९ पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ । वरिष्ठ नेता भण्डारीसहित केही सदस्य मनोनीत भइसके पनि स्थायी कमिटीका १८ सदस्य मनोनीत गर्न बाँकी छन् । केन्द्रीय सदस्यमा मनोनयनका लागि पाँच कोटा पनि रिक्त छन् ।

    एघारौँ महाधिवेशन भएको एक वर्ष पुग्न लाग्दासमेत पोलिटब्यूरो गठन हुन नसकेको एमालेमा अब हुने मनोनयनले पार्टीभित्रको शक्ति सन्तुलन र आन्तरिक एकताको दिशा निर्धारण गर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑