२०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ९०३ सवारीसाधन कारबाहीमा


१०९३ पाठक संख्या
  • २०८३ कार्तिक ११, मंगलबार मा प्रकाशित १८ घण्टा अघि
  • कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन् । प्रहरीले एक महिनाको अवधिमा ती सवारीसाधनलाई कारबाही गरी ३३ लाख ८६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार गत असोज महिनामा प्रदेशभर २३५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए । दुर्घटनामा ३२१ वटा सवारीसाधन संलग्न रहेका थिए ।

    प्रहरीका अनुसार प्रदेशमा भएका दुर्घटनामध्ये २०८ वटा चालकको लापरबाहीका कारण भएका थिए । त्यस्तै, मादक पदार्थ सेवनका कारण छ वटा, सवारीसाधनको अवस्थाका कारण नौ वटा, यात्रुका कारण एउटा, पैदलयात्रुका कारण दुई वटा, चौपायाका कारण पाँच वटा र सडकको अवस्थाका कारण चार वटा दुर्घटना भएका थिए ।

    सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सवारीसाधनको यान्त्रिक परीक्षण कार्यक्रमसमेत सुरु गरेको प्रहरी वरिष्ठ उपरीक्षक विष्टले जानकारी दिए ।

    यसैबीच, प्रहरीले भन्सार छली गरी ल्याइएका सामानविरुद्धको कारबाहीलाई पनि तीव्रता दिएको छ । एक महिनाको अवधिमा २४ जनालाई नियन्त्रणमा लिई दुई करोड २० लाख छ हजार रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।

    त्यसैगरी, प्राकृतिक सम्पदा दोहनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिँदै २८ वटा सवारीसाधन बरामद गरिएको छ । यसबापत प्रहरीले तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरेको छ । प्राकृतिक सम्पदा दोहनसम्बन्धी कारबाहीका क्रममा नौ जना पक्राउ परेको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ ।

    अवैध रूपमा वन पैदावार चोरी तथा ओसारपसार नियन्त्रणका क्रममा ६२ क्युफिट काठ बरामद गरिएको छ । उक्त कारबाहीबाट प्रहरीले तीन लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    यस्तै, अवैध पशुपन्छी नियन्त्रणसम्बन्धी कारबाहीबाट ११ लाख १२ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑