२०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

काभ्रेमा अवैध पटाकासहित १९ वर्षीय युवक पक्राउ


३४५९ पाठक संख्या
  • २०८३ कार्तिक १२, बुधबार मा प्रकाशित ९ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, ११ कात्तिक। काभ्रेपलाञ्चोकमा ठूलो परिमाणमा अवैध पटाका बरामद भएको छ। प्रहरीले धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक हाइसमा लुकाएर ल्याइएका विभिन्न प्रकारका पटाकासहित १९ वर्षीय युवकलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६ निवासी राहुल कुमार साह रहेका छन्।

    प्रहरीले कात्तिक १० गते दिउँसो करिब ३ बजेर ५० मिनेटमा धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङमा बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरेको हो।

    अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले धनुषाबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख १२२४ नम्बरको हाइस रोकेर जाँच गर्दा साहले बोकेको गुलाबी रङको सुटकेस तथा गाडीको डिकीमा राखिएका नीलो, सेतो र पहेँलो रङका तीनवटा बोराभित्र लुकाइएका पटाका फेला परेका थिए।

    विभिन्न प्रकारका पटाका बरामद

    प्रहरीले बरामद गरेका सामग्रीमा ‘चोर्सा क्र्याकर’का २५ बण्डल अर्थात् एक हजार २५० प्याकेट, ‘हाई स्पिड स्पिनर डिलक्स’ र ‘द क्लासिक फायर वर्क्स इन्डस्ट्रिज’का एक सय–एक सय थान गरी २०० थान पटाका रहेका छन्।

    त्यस्तै, ‘श्री अय्यम्मल फायर वर्क्स’का १५ थान, ‘क्र्याकलिङ स्पार्कलर्स’का ३६ प्याकेट र ‘रकेट बम’का नौ प्याकेट अर्थात् ९० थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै पटाकासहित साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो।

    विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान

    प्रहरीले साहविरुद्ध विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उनलाई कात्तिक १० गतेदेखि लागू हुने गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइएको छ। पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑