काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई मीठा परिकार तथा खानेकुरा दिएर पूजा आराधना गर्दै देशभर काग तिहार मनाउन लागिएको हो।
सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार आजै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।
धार्मिक मान्यताअनुसार यमराजले पृथ्वी लोकको खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पुज्ने परम्परा रहिआएको छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित आजका दिन कागलाई पूजा गरी मीठा खानेकुरा अर्पण गर्ने चलन छ।
लोकविश्वासअनुसार काग घरआँगनमा आएर कराएमा केही खबर ल्याएको संकेतका रूपमा लिने गरिन्छ। त्यसैले काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत नेपाली समाजमा छ।
काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना गरिन्छ। त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विधिपूर्वक पूजा गर्ने परम्परा छ।
तिहार पर्व धार्मिक रूपमा यमराजसँग पनि जोडिएको छ। दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई रक्षा गर्ने यमराजको मान्यताअनुसार यम यातनाबाट मुक्ति तथा परिवारका सदस्यको कल्याणको कामनासहित यमदीपदान गर्ने परम्परा छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार दक्षिण दिशातर्फ फर्काएर गरिने यमदीपदान शुक्रबार साँझदेखि नै सुरु भएको छ। यमदीप दान गरेमा यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। कात्तिक कृष्ण त्रयोदशी सायंकालमा परेका कारण यमपञ्चकको प्रारम्भ शुक्रबार बेलुकीदेखि भएको धार्मिक जानकारहरू बताउँछन्।
यस्तै, धनधान्य र समृद्धिकी देवी लक्ष्मीलाई घरमा स्थिर गराउने धार्मिक विश्वासका साथ मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ। धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामालगायत धातुका भाँडाकुँडा खरिद गर्दा घरमा सुख, समृद्धि र धनधान्य बढ्ने तथा लक्ष्मीको स्थायी बास हुने धार्मिक मान्यता छ।
यसरी काग तिहारसँगै सुरु भएको तिहार पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सद्भाव र सांस्कृतिक परम्परालाई थप जीवन्त बनाउने विश्वास गरिन्छ।


प्रतिक्रिया दिनुहोस