काठमाडौँ । तिहार पर्वको अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार गरेको सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न सहजीकरण गर्न आग्रह गरेको हो।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक, मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिएको छ। देउसी–भैलोका नाममा कसैलाई पनि चन्दा, दक्षिणा वा आर्थिक सहयोग दिन बाध्य पार्न नपाइने स्पष्ट पार्दै विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने खालका अश्लील गीत, सङ्गीत, नृत्य तथा नाराको प्रयोग नगर्न निर्देशन दिएको छ।
त्यस्तै, चाडपर्व मनाउने क्रममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
देउसी–भैलोका क्रममा अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न पनि मन्त्रालयले सचेत गराएको छ। विशेषगरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा ध्वनि प्रदूषण हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयको निर्देशन छ।
यसैगरी, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन तथा जथाभावी फोहोरमैला नगर्न पनि नागरिकलाई आग्रह गरिएको छ।
मन्त्रालयले चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा अन्य समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ।
मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा यसअघि २०८३ असोज २४ गते जारी गरिएको सूचनाको समेत पूर्ण पालना गर्न भनिएको छ।
गृह मन्त्रालयको यो निर्णयले तिहारको मौलिक सांस्कृतिक परम्परा संरक्षण गर्दै नागरिकलाई स्वतन्त्र, सुरक्षित र मर्यादित रूपमा देउसी–भैलो खेल्ने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस