२३ कात्तिक, काठमाडौं । मोरङको जहदा गाउँपालिकामा रड प्रहारबाट एक पुरुषको हत्या भएको छ। आफ्नै श्रीमती र एक भारतीय नागरिकले टाउकोमा रड प्रहार गर्दा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना गएराति करिब १० बजे भएको हो। सोरेनमाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र २७ वर्षीय भारतीय नागरिक सुनील मिश्रले रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्रलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनापछि फरार रहेकी मृतककी श्रीमती कमलीको खोजी भइरहेको छ।
प्रहरीका अनुसार सोरेनमाथि रड प्रहार गर्नुको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस