३ मंसिर, काठमाडौं । मिर्गौला फेल भएका ४०० भन्दा बढी बिरामी घरमै बसेर गरिने पेरिटोनियल डायलाइसिस (पीडी) का लागि आवश्यक विशेष पानी नपाउँदा जीवनमरणको दोसाँधमा पुगेका छन् ।
नेपालमा पीडी डायलाइसिसका लागि आवश्यक पानी एउटै कम्पनीले आयात तथा वितरण गर्दै आएको छ । तर, उक्त कम्पनीले पछिल्लो तीन महिनादेखि नियमित आपूर्ति गर्न नसक्दा बिरामीको उपचार प्रभावित भएको हो ।
पानी अभावका कारण कतिपय बिरामीले दिनमा तीन–चार पटक गर्नुपर्ने डायलाइसिस घटाएर एक–दुई पटकमा सीमित गर्नुपरेको छ । नियमित डायलाइसिस नहुँदा शरीर सुन्निने, श्वासप्रश्वासमा समस्या देखिने र रक्तचाप बढ्नेजस्ता जोखिम बढेको बिरामी बताउँछन् ।
काठमाडौंको कालीमाटीस्थित पानी वितरण केन्द्रमा बिहीबार पानी लिन पुगेका बिरामीमध्ये ४५ वर्षीया किरण थापा पनि थिइन् । १२ वर्षदेखि मिर्गौला रोगसँग जुधिरहेकी थापाको फिस्टुला बिग्रिएपछि घरमै पीडी डायलाइसिस गर्दै आएकी छन् । तर, तीन महिनादेखि आवश्यक पानी नपाउँदा दुई–तीन दिनसम्म डायलाइसिस रोक्नुपरेको उनको पीडा छ ।
‘खुट्टा सुन्निएको छ, सास फेर्न र बोल्नसमेत गाह्रो हुन्छ । दैनिक धाएर एक–दुई पोका पानीले काम चलाइरहेकी छु,’ उनले भनिन् ।
दक्षिणकालीका ३५ वर्षीय अकवीर तामाङको अवस्था पनि उस्तै छ । दिनमा तीन पटक डायलाइसिस गर्नुपर्ने उनलाई आवश्यक पानी नपाउँदा दुई दिनसम्म उपचार रोक्नुपरेको थियो । शरीर सुन्निने, रक्तचाप बढ्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि राति फोन गरेर बल्ल दुई पोका पानी जुटाएको उनले बताए ।
बिरामीहरूका अनुसार आवश्यक परिमाणमा पानी नपाउँदा साथीभाइसँग सापटी मागेर उपचार चलाउनुपर्ने अवस्था छ । वैकल्पिक रूपमा हेमोडायलाइसिस गर्न नसक्ने बिरामीका लागि पीडीको पानी अभाव उपचार रोकिनु मात्रै नभई जीवनकै जोखिम बनेको छ ।
१५ दिनभित्र समस्या समाधान गर्ने कम्पनीको दाबी
बिरामीहरू पानी अभावमा छटपटाइरहेका बेला यसको एकमात्र आयातकर्ता मित्र कम्पनीले भने १५ दिनभित्र आपूर्ति सहज बनाउने दाबी गरेको छ ।
कम्पनीका अध्यक्ष मधु चित्रकारले रसुवामा आएको बाढीका कारण आपूर्ति शृङ्खला प्रभावित हुनुका साथै दशैं, तिहार र छठका कारण भारतबाट सामान ल्याउन ढिलाइ भएको बताए ।
उनका अनुसार भारतको दिल्लीबाट एउटा गाडी पानी लिएर नेपालतर्फ आइसकेको छ भने थप दुई गाडी नोभेम्बर २१ मा लोडिङ हुने तयारीमा छन् । त्यसपछि हरेक साता दुई ट्रक पानी ल्याउने कम्पनीको योजना छ ।
नेपालमा पीडी डायलाइसिसका लागि आवश्यक पानीको अर्को आपूर्तिकर्ता नहुँदा कम्पनीको आपूर्ति अवरुद्ध हुँदा सयौं बिरामी प्रत्यक्ष प्रभावित भएका हुन् । कम्पनीले भने अधिकतम १५ दिनभित्र अभाव हटाउने प्रतिबद्धता जनाएको छ ।
तर, बिरामीका लागि १५ दिनको प्रतीक्षा पनि जीवनसँग जोडिएको गम्भीर चुनौती बनेको छ ।


प्रतिक्रिया दिनुहोस