२०८३ कार्तिक २८, शनिबार | Sat, 14, Nov, 2026

पोखराको लेकसाइडमा प्रहरीको धरपकड : तीन दिनमै ४४ पक्राउ, ८१ सवारी नियन्त्रणमा


८४७ पाठक संख्या
  • २०८३ कार्तिक २८, शनिबार मा प्रकाशित १२ घण्टा अघि
  • पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा अवैध तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’अन्तर्गत तीन दिनमा ४४ जना पक्राउ परेका छन्। प्रहरीले गत बुधबारदेखि शुक्रबारसम्म विभिन्न गतिविधिमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६ जना, प्रहरीसँग झैझगडा तथा वादविवाद गर्ने पाँच जना, हतियार बोकेर हिँड्ने दुई जना, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई जना र झण्डीबुर्जा खेलाउने एक जना पक्राउ परेका छन्।

    कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको छ। तीमध्ये ५७ जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ भने एक जना चालक अन्य ट्राफिक नियम उल्लङ्घनमा कारबाहीमा परेका छन्। बाँकी २३ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय झैझगडा, आपसी विवाद, पर्यटकमाथि दुर्व्यवहार तथा अन्य अवाञ्छित गतिविधि बढ्दै गएपछि प्रहरीले गत कात्तिक १८ गतेदेखि विशेष सुरक्षा अभियान ‘अपरेसन सभ्यता’ सञ्चालनमा ल्याएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार अभियान सुरु भएयता हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

    लेकसाइड क्षेत्रमा हुने झैझगडा, दुर्व्यवहार र असामाजिक गतिविधिले पोखराको पर्यटकीय छविमा नकारात्मक असर पार्नुका साथै शान्तिसुरक्षामा समेत चुनौती थपिएको भन्दै स्थानीय तथा सर्वसाधारणबाट गुनासो बढेपछि प्रहरीले अभियानलाई तीव्रता दिएको हो।

    पर्यटकको सुरक्षा, सार्वजनिक शान्ति कायम र लेकसाइड क्षेत्रलाई सुरक्षित तथा मर्यादित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑