२०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

सीप, पैसा र करियर भए कसैले हेप्न सक्दैन’ : मेयर खरेल


८४७ पाठक संख्या
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • लभ ग्रीन नेपालको छात्रवृत्ति अभियान : ५४० छात्रालाई शैक्षिक सहयोग, यस वर्ष ७५ जनालाई वितरण

    काभ्रेपलाञ्चोक । पाँचखाल — पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले छोरीचेली आर्थिक रूपमा आत्मनिर्भर, सक्षम र सीपयुक्त नभएसम्म समाजमा हुने हेपाइ, विभेद तथा दुर्व्यवहार अन्त्य गर्न कठिन हुने बताउनुभएको छ। उहाँले विवाहलाई जीवनको अन्तिम लक्ष्य नबनाई शिक्षा, सीप, करियर र उद्यमशीलतामार्फत आफ्नो भविष्य निर्माण गर्न छात्राहरूलाई आग्रह गर्नुभयो।

    लभ ग्रीन नेपालद्वारा स्थापित नेपाल शैक्षिक छात्रवृत्ति कोषमार्फत ७५ जना छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रममा बोल्दै मेयर खरेलले महिलाको आर्थिक सशक्तीकरण नै सम्मानजनक जीवनको महत्वपूर्ण आधार भएको बताउनुभएको हो। कार्यक्रम पाँचखाल नगरपालिका–६ स्थित लभ ग्रीन नेपालको प्रधान कार्यालयमा सम्पन्न भएको हो।

    छात्रवृत्ति प्राप्त गर्ने छात्राहरूलाई बधाई दिँदै उहाँले पढाइमा कमजोर भए विवाह गरिदिने सोच, विवाहपछि पराइ घरमा हुने अपहेलना, हिंसा तथा यातनाका घटनाहरू समाजमा अझै विद्यमान रहनु चिन्ताजनक भएको उल्लेख गर्नुभयो।

    “जबसम्म नारीहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदैनन्, तबसम्म हेप्ने प्रक्रिया चलिरहन्छ । आफूसँग पैसा, सीप र करियर भयो भने कसैले पनि हेप्न सक्दैन,” उहाँले भन्नुभयो।

    मेयर खरेलले छात्राहरूलाई सामाजिक सञ्जालमा बाहिरी आवरण प्रदर्शन गर्नुभन्दा आफ्नै क्षमता, सीप र आर्थिक सामर्थ्य विकासमा ध्यान दिन सुझाव दिनुभयो। पढाइमा उत्कृष्ट बन्ने मात्र नभई व्यावहारिक सीप सिकेर साना व्यवसाय तथा उद्यम सञ्चालन गर्ने सोच विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

    विकसित देशहरूमा महिलाहरू खेलकुद, विज्ञान, प्रविधि तथा उद्यमशीलताका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि महिलाहरूले परम्परागत सोचबाट माथि उठेर अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो। सरकारी जागिर वा लोकसेवालाई मात्रै करियरको विकल्प नठानी कृषि, व्यवसाय र उद्यमशीलतालाई पनि सम्भावनाको क्षेत्रका रूपमा लिनुपर्ने उहाँले जोड दिनुभयो।

    पाँचखालको कृषि तथा हरियाली प्रवर्द्धनमा विगत तीन दशकदेखि लभ ग्रीन नेपालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै मेयर खरेलले कृषि उत्पादन, अनुसन्धान र व्यावसायिक खेतीमा लाग्न छात्राहरूलाई प्रेरित गर्नुभयो। कृषिलाई आधुनिक प्रविधि र बजारसँग जोड्न सके आत्मनिर्भर बन्ने बलियो आधार तयार हुने उहाँको धारणा थियो।

    नगरपालिकाले सामुदायिक वनलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाएको जानकारी दिँदै उहाँले टिमुरलगायतका बिरुवा रोपण सुरु गरिएको बताउनुभयो। आगामी वर्षहरूमा वनबाट आम्दानीको सम्भावना बढाउने लक्ष्य रहेको उल्लेख गर्दै बिरुवा, मल तथा प्राविधिक सहयोग नगरपालिकाले उपलब्ध गराउने उहाँले बताउनुभयो। सामुदायिक वनलाई उत्पादनमुखी बनाउने अभियानमा अभिभावक तथा समुदायसम्म सकारात्मक सन्देश पुर्‍याउन छात्राहरूलाई पनि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो।

    छात्रवृत्ति कार्यक्रम नगरपालिका वा व्यक्तिगत पहलबाट नभई लभ ग्रीन नेपाल, विभिन्न दातृ निकाय तथा शुभेच्छुकहरूको सहयोगबाट सम्भव भएको स्पष्ट पार्दै उहाँले आयोजक र सहयोगीहरूप्रति नगरवासीका तर्फबाट आभार व्यक्त गर्नुभयो। साथै, आफ्ना स्वर्गीय पिता राजेन्द्र खरेलको स्मृतिमा स्थानीय अस्पतालमा करिब ६० देखि ७० लाख रुपैयाँ लागतमा इमर्जेन्सी भवन निर्माण भइरहेको जानकारी दिनुभयो। छात्राहरूलाई भविष्यमा करियर वा जीवनका कठिनाइमा परामर्श तथा सहयोग आवश्यक परे आफू साथमा रहने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

    लभ ग्रीन नेपालद्वारा ५४० छात्रालाई छात्रवृत्ति

    लभ ग्रीन नेपालले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने छात्राहरूलाई लक्षित गर्दै स्थापना कालदेखि हालसम्म करिब ५४० जनालाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ। संस्थाले २०५७ सालमा नेपाल शैक्षिक छात्रवृत्ति कोष स्थापना गरी छात्राहरूको शिक्षामा निरन्तर सहयोग गर्दै आएको हो।

    संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार छात्रवृत्तिअन्तर्गत कक्षा ८ का छात्रालाई वार्षिक ४ हजार रुपैयाँ, कक्षा ९ र १० का छात्रालाई ५ हजार रुपैयाँ तथा कक्षा ११ र १२ का छात्रालाई पनि छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएको छ।

    छात्रवृत्तिसँगै छात्राहरूको नेतृत्व क्षमता, बोलाइ तथा लेखाइ सीप र आत्मविश्वास अभिवृद्धिका लागि विभिन्न तालिम तथा ‘लिडर्स क्लब’ सञ्चालन गरिएको उहाँले बताउनुभयो। विगतमा शिक्षिका बन्ने लक्ष्य राखेका ७५ जना छात्राहरूलाई पाँचखालका सरकारी विद्यालयमा स्वयंसेवी शिक्षकका रूपमा पठाइएको भए पनि आर्थिक अभावका कारण उक्त कार्यक्रम पछिल्लो तीन वर्षदेखि रोकिएको उहाँले जानकारी दिनुभयो।

    छात्रवृत्ति पाएका धेरै छात्राहरू अहिले विभिन्न क्षेत्रमा कार्यरत रहेको र करिब ६० देखि ६५ जना जापानमा रोजगारीमा रहेको जानकारी दिँदै उहाँले केही छात्राहरू स्वदेश फर्किएर आफ्नै क्षेत्रमा अवसर खोज्ने तथा उद्यम गर्ने प्रयासमा रहेको बताउनुभयो।

    विषादी न्यूनीकरण र कृषि बजार प्रवर्द्धनमा जोड

    लभ ग्रीन नेपालले छात्रवृत्ति तथा महिला सशक्तीकरणसँगै पाँचखाल क्षेत्रमा कृषि र वातावरण संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। करिब ३५ वर्षदेखि यस क्षेत्रमा सक्रिय संस्थाले रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्न एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) पद्धतिलाई प्रवर्द्धन गरिरहेको कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो।

    राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालयका विज्ञ तथा नगरपालिकासँगको सहकार्यमा अघि बढाइएको एकीकृत ग्रामीण विकास परियोजनामार्फत पछिल्लो आठ वर्षमा करिब १ हजार ८०० कृषक प्रत्यक्ष रूपमा आईपीएम प्रविधि अपनाउँदै आएको उहाँको भनाइ छ। यसबाट कृषि उत्पादनमा विषादीको प्रयोग घटाउन सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो।

    त्यस्तै, ४ देखि ५ सय कृषकलाई लेबलिङ तथा प्याकेजिङसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। पाँचखालको ६५० देखि १ हजार ६५० मिटर उचाइसम्मको भौगोलिक विविधताका कारण विभिन्न मौसममा गुणस्तरीय तरकारी उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै संस्थाले कृषि उत्पादनको बजार विस्तारमा समेत काम गरिरहेको छ।

    पछिल्लो चार वर्षदेखि काठमाडौंका विभिन्न बजारमा पाँचखालको तरकारी पुर्‍याउने, बिक्री वितरण तथा प्रचारप्रसार गर्ने कार्यले स्थानीय उत्पादनको माग बढाउन सहयोग पुगेको संस्थाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑