२०८३ कार्तिक ३०, सोमबार | Mon, 16, Nov, 2026

क्रिमिया पुल निशानामा, युक्रेनले एकै दिन प्रहार गर्‍यो १ हजार ३३६ ड्रोन


७२१ पाठक संख्या
  • २०८३ कार्तिक ३०, सोमबार मा प्रकाशित १२ घण्टा अघि
  • ३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गर्दै एकै दिनमा १ हजार ३३६ ड्रोन प्रहार गरेको छ। आक्रमणबाट पुलमा ठूलो क्षति पुगेको विवरण सार्वजनिक नभए पनि रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै पुलमा यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन्।

    रुसको रक्षा मन्त्रालयका अनुसार यस वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये यो दोस्रो ठूलो सङ्ख्या हो। क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले आक्रमणबाट मानवीय क्षति भएको जानकारी दिएका छैनन्। त्यस्तै, मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका करिब ६०० ड्रोन खसालिएको बताएका छन्।

    सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेयता रणनीतिक महत्त्वको क्रिमिया पुल युक्रेनी आक्रमणको निशानामा पर्दै आएको छ। यसअघि सन् २०२२ को अक्टोबरमा विस्फोटक पदार्थ बोकेको ट्रक पुलमा विस्फोट हुँदा त्यसबाट हुने आवागमन महिनौँसम्म प्रभावित भएको थियो।

    युक्रेनले आफ्ना प्रत्याक्रमणलाई रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जवाफका रूपमा व्याख्या गर्दै आएको छ। युक्रेनी राजधानी किएभका अनुसार रुसी आक्रमणबाट देशका विभिन्न सहर र ऊर्जा पूर्वाधारमा क्षति पुग्नुका साथै सयौँ सर्वसाधारणको मृत्यु भएको छ। त्यस्तै, लाखौँ मानिस विद्युत् र ताप सुविधाबाट वञ्चित भएका छन्।

    यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि ठोस सहमति जुट्न सकेको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेना तैनाथ गरिए त्यसलाई युद्धको निरन्तरताका रूपमा लिने चेतावनी दिएका छन्। यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले नेटो सदस्यता दिने प्रस्तावसँगै केही भूभाग छाड्न सुझाव दिएको बताएका छन्।

    चीनले नोभेम्बर १९ मा शेन्जेनमा राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने पुष्टि गरेको छ। बेइजिङका अनुसार उक्त भेटमा विश्व शान्तिका विषयमा छलफल हुनेछ। यद्यपि, अमेरिकी अधिकारीहरूले त्रिपक्षीय वार्तामा युक्रेन युद्ध प्रमुख एजेन्डा बन्ने अपेक्षा नरहेको बताएका छन्।

    जेलेन्स्कीले भने उक्त बैठकप्रति चिन्ता व्यक्त गर्दै सन् १९४५ को याल्टा सम्मेलनमा जस्तै ठूला शक्तिहरूले सम्बन्धित साना राष्ट्रको सहभागिताबिना उनीहरूको भविष्य निर्धारण गर्ने जोखिम रहेको बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑