काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टी पाँचखाल नगरपालिका कमिटीले आगामी मंसिर ५ गते बृहत् नगर कमिटी बैठकसँगै ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्ने भएको छ।
“निरङ्कुशता र अराजकताको विरोध गरौँ ! राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ !!” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रम पाँचखाल नगर पार्टी कार्यालयमा बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ।
लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको संरक्षण तथा समसामयिक राजनीतिक परिस्थितिबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ।
कार्यक्रममा पार्टीको भावी रणनीति, संगठनात्मक सुदृढीकरण तथा राष्ट्रिय राजनीतिक अवस्थाका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
आयोजक पाँचखाल नगरपालिका कमिटीले कार्यक्रममा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायलाई उपस्थित भई अभियानलाई सफल बनाउन हार्दिक आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस