काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थित बुच्चाकोटमा शुक्रबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। जसमध्ये ४ जनाको पहिचान खुलेको छ भने अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परी रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ, रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर लोप्चन तथा दैलेख घर भई नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनामा घाइते भएका १६ जनाको पहिचान खुलिसकेको छ। घाइतेमध्ये अधिकांशको टाउको, अनुहार, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा रोशी गाउँपालिका–८ की २२ वर्षीया एनिशा तामाङ, रोशी गाउँपालिका–६ की २० वर्षीया विष्णु डोल्मो तामाङ, धनबहादुर तामाङ, चन्द्र तामाङ, रमिता वाइवा, मनब तामाङ, रोशी गाउँपालिका–७ का ६० वर्षीय डम्बरबहादुर शाह, रोशी गाउँपालिका–८ का ४३ वर्षीय कृष्णबहादुर तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, बनेपा नगरपालिका–३ का ३४ वर्षीय घोया सिंह तामाङ (बस चालक), रोशी गाउँपालिका–२ की ६२ वर्षीया विष्णुमाया लामा तथा तेमाल गाउँपालिका–८ का ४३ वर्षीय मनुराज तामाङ रहेका छन्।
यस्तै, एक ५–६ वर्षीय बालक, एक वर्षीया बालिका, करिब ६०–६२ वर्षीय एक पुरुष तथा २०–२२ वर्षीया एक महिलाको समेत उपचार भइरहेको छ। उनीहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको धुलिखेल अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। स्थानीयवासीका अनुसार दुर्घटनापछि उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण खटिएका थिए।




प्रतिक्रिया दिनुहोस