काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका मृत अवस्थामा भेटिएको घटनामा उनकै सौतेनी आमाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिका हराएको करिब दुई घण्टामै घरपछाडिको झाडीमा मृत भेटिएपछि घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
शम्भुनाथ नगरपालिका–३ का मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएकी थिइन्। परिवारले बालिका हराएको जानकारी गराएपछि प्रहरीले तत्काल खोजतलास अघि बढाएको थियो। खोजीका क्रममा घरपछाडिको झाडीमा बालिकाको शव फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताएका छन्। मुस्कान मृतक बालिकाकी कान्छी सौतेनी आमा हुन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मुस्कानकै संलग्नतामा बालिकाको हत्या भएको देखिएको छ। बालिकाको शरीरमा बाहिरी चोटपटक स्पष्ट रूपमा नदेखिएको र घटनामा एक जनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताएका छन्। घटनाको वास्तविक कारण र हत्याको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। इरफानकी जेठी पत्नी र छोरी पुर्ख्यौली घरमा बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही क्षेत्रनजिकै डेरा लिएर बस्दै आएकी थिइन्।
घटनाअघि दुई पत्नीबीच पारिवारिक विषयलाई लिएर विवाद भएको स्थानीयले बताएका छन्। शनिबार सौता लागेर आएको विषयमा समेत विवाद भएको र ‘सम्पत्तिको हकदार को हुने ?’ भन्ने प्रश्नलाई लिएर दुई पक्षबीच मतभेद रहेको बताइएको छ। यही पारिवारिक विवाद घटनाको पृष्ठभूमि हुन सक्ने आशंका गरिए पनि प्रहरीले कारणबारे अनुसन्धान पूरा नभएसम्म निष्कर्षमा पुग्न नसकिने जनाएको छ।
बालिकाको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण र घटनाको प्रकृतिबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
दुई वर्षीया बालिकाको हत्या भएको घटनापछि स्थानीयवासी आक्रोशित भएका छन्। घटनाको विरोधमा आइतबार दिउँसो स्थानीयले केही समय रुपनी बजार बन्द गराएका थिए। स्थानीयको विरोधका कारण केही समय बजार तथा राजमार्ग क्षेत्रमा अवरोधसमेत सिर्जना भएको थियो। हाल भने बजार र राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।
बालबालिकाको सुरक्षा र अपराध अनुसन्धानमा प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने माग गर्दै स्थानीयले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
सप्तरीको यो घटना सार्वजनिक भएको केही समयमै देशका विभिन्न ठाउँमा बालिकामाथि भएका जघन्य अपराधका घटनाले बालबालिकाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
यसअघि बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरी मृत अवस्थामा भेटिएकी थिइन्। साउन ३१ गतेदेखि हराएकी गरिमाको भदौ २ गते शव भेटिएको थियो। प्रहरीको अनुसन्धानले बालिकामाथि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ।
घटनापछि बालिका हराएको सूचना पाएर पनि प्रभावकारी खोजतलास तथा अनुसन्धान नभएको भन्दै स्थानीयवासीले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै प्रदर्शन गरेका थिए। त्यसपछि सिमरास्थित इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी दिलीप क्षेत्रीलाई हटाइएको थियो। उनको स्थानमा प्रहरी प्रधान कार्यालयले डीएसपी दयाकृष्ण भट्टलाई पठाएको छ।
गरिमा हत्या प्रकरणमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार सुमन थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन्। प्रारम्भिक अनुसन्धानमा उनले चकलेट दिएर बालिकालाई फकाई घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको खुलेको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बताएका छन्। पक्राउ परेका अर्का व्यक्ति उक्त म्याजिकका धनी हुन्।
गरिमा चौधरीका परिवार र सरकारबीच शनिबार गृह मन्त्रालयमा भएको छलफलपछि विभिन्न विषयमा सहमति भएको छ। सहमतिअनुसार सिमरामा गरिमाको सालिक निर्माणका लागि पहल गर्ने तथा बालबालिकामाथि हुने यस्ता जघन्य अपराध नियन्त्रणका लागि कानुनी सुधारका विषयमा सुझावसहित प्रतिवेदन दिन ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्ने सहमति भएको छ।
सप्तरीकी दुई वर्षीया खुशी खातुनको हत्या र बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणले बालबालिकाको सुरक्षा केवल परिवारको जिम्मेवारी नभई राज्यको प्राथमिक दायित्वसमेत भएको प्रश्न पुनः उठाएको छ। बालबालिका हराउनेबित्तिकै प्रभावकारी खोजतलास, संवेदनशील अनुसन्धान, दोषीमाथि शीघ्र कानुनी कारबाही तथा पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्नुपर्ने माग बलियो बन्दै गएको छ।
सप्तरी घटनामा पक्राउ परेकी मुस्कानमाथिको अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनपछि घटनाको वास्तविक कारण तथा हत्याको यकिन प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस