२०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पित


२५७५ पाठक संख्या
  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित २0 घण्टा अघि
  • भक्तपुर । कवि सूर्यप्रसाद लाकोजूको नवीनतम् कवितासङ्ग्रह ‘एक झुल्को घाम’ मध्यपुर थिमीमा आयोजित विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले उक्त कृतिको लोकार्पण गर्नुभएको हो।

    लोकार्पण समारोहमा प्रमुख अतिथि श्रेष्ठले साहित्यकारहरू राष्ट्रका गौरव भएको बताउँदै कवि लाकोजूको नयाँ कृतिको शीर्षक नै अर्थपूर्ण र आकर्षक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले साहित्यले समाजको संवेदना, समयको यथार्थ र मानवीय अनुभूतिलाई अभिव्यक्त गर्दै सकारात्मक सोच निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    कृतिमाथि समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो। उहाँहरूले ‘एक झुल्को घाम’मा समेटिएका कविताका विषयवस्तु, भावभूमि, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षमाथि चर्चा गर्नुभयो। समालोचकहरूले कृतिले समकालीन नेपाली समाजका विविध अनुभूति र अन्तर्विरोधलाई कवितामार्फत प्रभावकारी ढंगले प्रस्तुत गरेको धारणा राख्नुभयो।

    समारोहमा कवि सूर्यप्रसाद लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभव साट्नुभयो। उहाँका अनुसार अँध्यारो जतिसुकै गाढा भए पनि जीवनमा आशाको एउटा झुल्को घाम सधैँ बाँकी रहन्छ भन्ने मूल भाव कृतिमा अभिव्यक्त भएको छ।

    कवितासङ्ग्रहमा देशप्रेम, सामाजिक विकृति र विसङ्गतिप्रतिको असन्तोष, राजनीतिक बेथिति, प्रेम–प्रणय, मानवीय संवेदना, सङ्घर्ष, प्रकृति तथा समयबोधजस्ता विविध विषय समेटिएका छन्। सरल र प्रभावशाली भाषाशैलीमा लेखिएका कविताले नेपाली समाज र समकालीन जीवनका विविध आयामलाई पाठकमाझ प्रस्तुत गर्ने प्रयास गरेका छन्।

    समारोहमा ‘एक झुल्को घाम’मा सङ्ग्रहित कविताहरू कवि बुद्धिकृष्ण गो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतले वाचन गर्नुभएको थियो। कवितावाचनले समारोहलाई थप सिर्जनात्मक र साहित्यिक बनाएको थियो।

    कवि वसन्त नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि राजुराम मुनकर्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले ‘एक झुल्को घाम’लाई कवि लाकोजूको साहित्यिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्दै कृतिमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक सरोकार, समकालीन जीवनबोध र काव्यिक सौन्दर्यको प्रशंसा गरेका थिए।

    ‘एक झुल्को घाम’ कवि लाकोजूको सातौँ कविताकृति हो। तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद र कथालगायतका विधामा कलम चलाउँदै आउनुभएको छ। उहाँ लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत सक्रिय रहँदै आउनुभएको छ।

    विविध साहित्यिक विधामा निरन्तर सिर्जनारत लाकोजूको नयाँ कृतिले नेपाली कवितामा समकालीन समाज, मानवीय संवेदना र आशावादी चेतनालाई थप सशक्त रूपमा स्थापित गर्ने अपेक्षा साहित्यिक क्षेत्रले गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु