काठमाडौँ । काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ८७ जनालाई पक्राउ गरेको छ। प्रहरीले स्विप अपरेसन सञ्चालन गर्नुका साथै फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार कात्तिक ९ गते बिहानदेखि कात्तिक १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्विप अपरेसनका क्रममा ७५ जना पक्राउ परेका छन्।
स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि तथा विवरण जाँच गरी आवश्यक अनुसन्धानपछि मुद्दा चलाउने वा रिहा गर्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ।
त्यसैगरी, अदालतबाट कैद तथा जरिवानाको फैसला भएका आठ जना र अदालतबाट पक्राउ अनुमति जारी भई अनुसन्धानको क्रममा रहेका चार जनालाई पनि प्रहरीले पक्राउ गरेको एसपी थापाले जानकारी दिए।
प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउँदै फरार प्रतिवादीको खोजी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि अभियान सञ्चालन गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस