२०८३ कार्तिक १९, बिहिबार | Thu, 05, Nov, 2026

विवाद समाधानमा पाँचखालको पहल : २३ जना मेलमिलापकर्ता तयार


४८९७ पाठक संख्या
  • २०८३ कार्तिक १९, बिहिबार मा प्रकाशित १३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । स्थानीयस्तरमा उत्पन्न हुने विवादलाई संवाद, सहमति र आपसी समझदारीका माध्यमबाट समाधान गर्ने उद्देश्यले पाँचखाल नगरपालिकामा सञ्चालित मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम बुधबार सम्पन्न भएको छ ।

    पाँचखाल नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको प्राविधिक सहयोगमा कात्तिक ११ गतेदेखि सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन भएको थियो । स्थानीय समुदायमा मेलमिलापको संस्कृति विकास गर्नुका साथै न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य तालिमले लिएको छ ।

    पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्चना खड्का अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

    नगरपालिकाकी अधिकृत सुविता ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थी दुर्गादेवी उप्रेती र माधवप्रसाद पन्तले तालिमबाट प्राप्त ज्ञान, सीप र उपलब्धिबारे अनुभव सुनाउनुभएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्चना खड्का अधिकारीले तालिमबाट प्राप्त ज्ञान र सीपले नगरवासीबीच उत्पन्न हुने विवादलाई सहज रूपमा समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नगर उपप्रमुख दनुवारले मेलमिलापसम्बन्धी ज्ञान र सीप स्थानीयस्तरमा विवाद समाधानका लागि अत्यन्त उपयोगी हुने बताउँदै तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

    नगरपालिका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष सञ्जय तामाङले दक्ष प्रशिक्षकबाट प्राप्त तालिमले सहभागीहरूलाई विवाद समाधानमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षित जनशक्तिबाट पाँचखालमा उत्पन्न हुने विवादको सहज र प्रभावकारी निरूपणमा योगदान पुग्ने बताउनुभयो ।

    तालिमकी प्रशिक्षक रीता मानन्धरले मेलमिलाप प्रक्रियामा प्रशिक्षित व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीयस्तरमै विवाद समाधानको वातावरण निर्माण हुँदा आत्महत्या जस्ता दुःखद घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो ।

    आठ दिनसम्म सञ्चालन भएको तालिममा पाँचखाल नगरपालिकाका १३ वटै वडाबाट २३ जनाको सहभागिता रहेको थियो । सहभागीहरूलाई मेलमिलापको अवधारणा, संवादको महत्त्व, विवाद समाधानमा सहजीकरण तथा विवादका पक्षहरूबीच सहमति निर्माण गर्ने प्रक्रियासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।

    समापन कार्यक्रममा योजना शाखा अधिकृत कल्याण सुवेदी, न्यायिक समिति सदस्य एवं वडा नं. ७ का अध्यक्ष रामकृष्ण दंगाल र न्यायिक समिति सदस्य एवं वडा नं. ११ का अध्यक्ष हिराकाजी तामाङलगायतको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑