काभ्रेपलाञ्चोक । करुणा, त्याग र परोपकारको अनुपम सन्देश बोकेको ऐतिहासिक तथा धार्मिक महत्वको नमोबुद्ध जात्रा यस वर्ष सोमबारदेखि सुरु हुँदैछ। कात्तिक शुक्ल पूर्णिमाका अवसरमा नमोबुद्ध नगरपालिका–११ स्थित पवित्र धार्मिकस्थलमा तीन दिनसम्म लाग्ने जात्रामा स्वदेश तथा विदेशका हजारौँ बौद्ध धर्मावलम्बी र श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।
गौतम बुद्धको पूर्वजन्मसँग जोडिएको किंवदन्तीका कारण नमोबुद्ध विश्वभरका बौद्ध धर्मावलम्बीका लागि आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरुको जीवन रक्षाका लागि एक राजकुमारले आफ्नै शरीर अर्पण गरेको त्यागपूर्ण घटनाको स्मरणमा यहाँ प्रत्येक वर्ष भव्य धार्मिक मेला लाग्ने परम्परा छ।
नमोबुद्धमा कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमा हुँदै प्रतिपदासम्म तीन दिन जात्रा सञ्चालन हुन्छ। मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब ५० हजार भक्तजनले यहाँ पुगेर दर्शन, पूजाआजा तथा दीप प्रज्वलन गर्ने गरेका छन्।
राजकुमारको अतुलनीय त्यागसँग जोडिएको धार्मिक आस्था
धार्मिक किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार एक दिन गन्धमान पर्वतको जङ्गलमा पुगेका थिए। त्यहाँ उनले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे। भोकले कमजोर बनेकी बघिनीले आफ्ना डमरुलाई समेत आहारा जुटाउन नसकेको अवस्था देखेपछि राजकुमारको मनमा करुणा जाग्यो।
उनले बघिनी र डमरुको जीवन बचाउन आफ्नो शरीरको मासु काटेर खुवाए। अन्ततः आफ्नो देह नै त्यागेर उनीहरूले जीवनदान दिए। यही ऐतिहासिक धार्मिक किंवदन्तीको स्मरणमा नमोबुद्धमा हरेक वर्ष जात्रा तथा पूजा आयोजना हुँदै आएको नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताए।
उनका अनुसार राजकुमारले जीवनदान दिएको स्थानमा विशेष पूजा तथा दीप प्रज्वलन गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार बघिनीलाई लक्ष्मी र उनका पाँच डमरुलाई भिक्षुका रूपमा सम्मान गरिन्छ। राजकुमारको देहत्यागपछि राजा महारथ र रानी सत्यवतीले पनि सोही स्थानमा बाँकी जीवन चैत्यसेवामा बिताएको किंवदन्ती छ। उनीहरू शङ्खेश्वरी अजि–अजिमाका नामले समेत परिचित रहेको लामाले बताए।
रातभर दीप प्रज्वलन, परम्परागत गीत र नृत्य
नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो रात पितृको सम्झनामा रातभर दीप प्रज्वलन गर्ने विशेष परम्परा छ। रातभर बत्ती बाल्दा दिवंगत पितृले वर्षभरि उज्यालो प्राप्त गर्ने धार्मिक विश्वासका आधारमा यो परम्परा निरन्तर चल्दै आएको उनले बताए।
जात्राका अवसरमा परम्परागत धार्मिक गीत तथा नृत्य प्रस्तुत गरिन्छन्। विशेषगरी तामाङ र नेवार समुदायका श्रद्धालुको उल्लेख्य सहभागिता रहने मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ र नुवाकोटलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन्।
स्थानीय राकेश लामाका अनुसार नमोबुद्धमा जात्राका बेला मात्र नभई वर्षभरि नै स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल रहने गरेको छ।
वर्षमा तीनपटक धार्मिक मेला
नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाबाहेक भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीमा समेत मेला लाग्ने गर्दछ। भाद्र कृष्ण द्वादशीका दिन नमोबुद्धको खट पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बुद्ध तथा अजि–अजिमासहित जात्रा गर्ने विशिष्ट परम्परा छ।
धार्मिक मान्यताअनुसार राजकुमारको जन्मघर पनौतीस्थित तलेजु भवानी मन्दिरनजिक रहेको काशीवर्ण महावीरलाई मानिन्छ। गन्धमान पर्वतको टुप्पोमा राजकुमारको अस्थिपञ्जर संकलन गरी स्तूप (चैत्य) निर्माण गरिएको अभिलेख संवत् ९७४ को रहेको बताइन्छ। त्यहाँ राजकुमारले बघिनीलाई आफ्नो शरीरको मासु खुवाइरहेको दृश्य कुँदिएको मूर्तिसमेत स्थापना गरिएको छ।
धार्मिक आस्थासँगै पर्यटनको आकर्षक गन्तव्य
नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, चैत्य तथा ढुङ्गाबाट निर्मित बुद्धका कलात्मक मूर्तिहरू रहेका छन्। यहाँ सञ्चालित गुम्बाहरूमा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ। धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रले बौद्ध दर्शन, कला र परम्पराको अध्ययन गर्न चाहनेहरूलाई समेत आकर्षित गर्दै आएको छ।
काठमाडौंको केन्द्रबाट करिब ३२ किलोमिटर पूर्व र धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा अवस्थित नमोबुद्ध पुग्न पनौतीबाट शङ्खु उपत्यका हुँदै वा धुलिखेलबाट पदयात्रा गरेर जान सकिन्छ। यहाँबाट पनौतीका हरियाली बस्ती, पूर्व तथा उत्तरतर्फ फैलिएका हिमशृङ्खला र मनोरम पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ।
धार्मिक आस्था, ऐतिहासिक विरासत, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानको संगम बनेको नमोबुद्ध जात्राले करुणा र मानवताको सन्देश प्रवाह गर्नुका साथै काभ्रेपलाञ्चोकको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस