२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

ढाका बुनाइबाट आत्मनिर्भरताको यात्रा : पाँचखालका महिलालाई उद्योग सञ्चालनको आधार


२००३ पाठक संख्या
  • २०८३ श्रावण १८, सोमबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, साउन १८ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको ढाका बुनाइ तालिमले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। चार वर्षदेखि निरन्तर सञ्चालनमा रहेको तालिममा दक्षता हासिल गरेका महिलालाई उद्योग सञ्चालनतर्फ अग्रसर गराउन सोमबार ढाका बुनाइका तान तथा आवश्यक कच्चा पदार्थ हस्तान्तरण गरिएको हो।

    २०७२ साल मंसिर २९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको उज्यालो नेपाल संस्थाले काठमाडौं, काभ्रेपलाञ्चोक र रामेछापलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार तथा सामाजिक विकासका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। काठमाडौंको कीर्तिपुर नगरपालिका–१, ट्याङ्गलाफाँटस्थित केन्द्रीय कार्यालय रहेको संस्थाले पछिल्ला वर्षहरूमा महिला सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।

    उक्त संस्थाले महिला साहारा सामाजिक संस्थासँगको सहकार्यमा चार वर्षअघि पाँचखाल नगरपालिकाका २२ जना महिलालाई ढाका बुनाइ तालिम प्रदान गरेको थियो। तालिममा सहभागीमध्ये दक्षता हासिल गरी व्यावसायिक रूपमा ढाका उत्पादन गर्न सक्षम भएका पाँच महिलालाई सोमबार आयोजित कार्यक्रममा पाँच थान ढाका बुनाइका तान (लूम) तथा उत्पादन सुरु गर्न आवश्यक धागोलगायत सामग्री हस्तान्तरण गरिएको हो।

    महिला साहारा सामाजिक संस्थाकी अध्यक्ष झलकुमारी दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, उज्यालो नेपालका अध्यक्ष तथा पाँचखाल नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष संजय तामाङ, संस्थाका कोषाध्यक्ष प्रभाकर महर्जनलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन प्रभा दुलालले गर्नुभएको थियो भने महिला साहारा सामाजिक संस्थाकी कोषाध्यक्ष निर्मला चौलागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महेश खरेलले सीप सिकेर उत्पादनतर्फ अघि बढेका महिलालाई नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले महिलाको आर्थिक सशक्तीकरणले परिवार मात्र होइन, समग्र समाज र राष्ट्रलाई नै बलियो बनाउने उल्लेख गर्दै उद्यम विस्तारका लागि नगरपालिकाले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले तालिमबाट दक्ष बनेका महिलाले उत्पादन गर्ने ढाकाको बजारीकरणमा नगरपालिकाले आवश्यक सहजीकरण गर्ने बताउनुभयो। स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके महिला उद्यमीहरूको आयआर्जनमा उल्लेखनीय वृद्धि हुने उहाँको भनाइ थियो।

    उज्यालो नेपालका अध्यक्ष संजय तामाङले संस्थाले केवल तालिममा सीमित नभई महिलालाई उद्यमी बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। चार वर्षसम्म निरन्तर अभ्यास गरी दक्षता हासिल गरेका महिलाहरू अब उद्योग सञ्चालनको चरणमा पुगेको उल्लेख गर्दै उहाँले पर्याप्त उत्पादन गर्न सके बजार व्यवस्थापनमा संस्थाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    आयोजकका अनुसार तालिमबाट प्राप्त सीपलाई व्यावसायिक उत्पादनसँग जोड्दै महिलालाई दीर्घकालीन आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले उपकरण तथा सामग्री हस्तान्तरण गरिएको हो। यस कार्यक्रमले स्थानीय ढाका उद्योगको संरक्षण, परम्परागत सीपको प्रवर्द्धन तथा महिला उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार