चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त ठूलो जनमतका कारण पार्टीका नेता तथा कार्यकर्तामा अहंकार बढेको भन्दै आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता–कार्यकर्ता मात्तिएको, अहंकारी बनेको र जनतालाई सम्मान गर्न छाडेको टिप्पणी गरे । उनले माथिदेखि तलसम्म पार्टीको व्यवहारमा सुधार आवश्यक रहेको औँल्याउँदै भने, ‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी । हामीले मान्छेलाई मान्छे गनेका छैनौँ । यसरी हुँदैन ।’
लामिछानेले चितवनबाट सुरु भएको राजनीतिक यात्राले राष्ट्रियस्तरमा ठूलो सफलता प्राप्त गर्नुमा यहाँका जनताको महत्वपूर्ण योगदान रहेको स्मरण गरे । चितवनकै साथ र विश्वासका कारण हरेक राजनीतिक चुनौती सामना गर्न सफल भएको उल्लेख गर्दै उनले चितवनवासीप्रति आभार व्यक्त गरे ।
यसपटक चितवन आउन केही ढिलाइ भएको स्वीकार गर्दै उनले आफू आउन ढिलो भए पनि सरकारका नीति, कार्यक्रम र संरचनाहरू जनताको घरदैलोसम्म पुगेको विश्वास व्यक्त गरे ।
उनले राजनीतिमा प्रवेश गरी चितवनबाट चुनाव लड्ने निर्णय गर्दा यहाँका नागरिकको आफ्नै राजनीतिक दल, इतिहास, नेताहरूको विरासत, त्याग र बलिदान रहेको स्मरणसमेत गरे ।


प्रतिक्रिया दिनुहोस