२०८३ कार्तिक २९, आईतबार | Sun, 15, Nov, 2026

छठले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल


३९७ पाठक संख्या
  • २०८३ कार्तिक २९, आईतबार मा प्रकाशित २0 घण्टा अघि
  • काठमाडौँ, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

    छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ बनाउन छठ पर्वले प्रेरणा दिने बताएका हुन् ।

    उनले सूर्यदेवको आराधना गरी मनाइने छठ पर्वले स्वच्छता, संयमता, सात्विकता, दीर्घायु, सुख, शान्ति र समृद्धिको सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन् । प्रकृति र पर्यावरणप्रति सम्मान प्रकट गर्ने यस पर्वले पारिवारिक तथा सामाजिक एकतालाई समेत मजबुत बनाउने उनको भनाइ छ ।

    राष्ट्रपति पौडेलले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान र पर्यावरणीय चेतना अभिवृद्धि गर्ने बताएका छन् ।

    उनका अनुसार सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्ने छठ पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दछ ।

    तराई तथा मधेस क्षेत्रमा विशेष श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत व्यापक रूपमा मनाइन थालेकोमा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् ।

    उनले छठ पर्वले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, छठी माता र सूर्य भगवान्को कृपा सम्पूर्ण नेपालीमा रहिरहोस् भन्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑