२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

निर्धक्क मतदान नै सुदृढ लोकतन्त्रको आधार


६८३९ पाठक संख्या
  • २०८२ माघ ६, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन नेपाली लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण राजनीतिक प्रक्रिया हो । संविधानले प्रत्याभूत गरेको सार्वभौम अधिकार प्रयोग गर्ने यो अवसरले देशको भावी शासन, नीति र नेतृत्वको दिशा तय गर्छ । त्यसैले निर्वाचन केवल औपचारिक प्रक्रिया नभई लोकतन्त्रको वास्तविक परीक्षा हो । यस्तो अवस्थामा निर्वाचन भय–रहित, निष्पक्ष र निर्धक्क वातावरणमा सम्पन्न हुनु अनिवार्य छ ।

    स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड मानिन्छ । यदि मतदाता डर, धम्की, दबाब, प्रलोभन वा प्रभावमा परेर मतदान गर्न बाध्य हुन्छ भने जनताको वास्तविक अभिमत प्रतिबिम्बित हुन सक्दैन । विगतका निर्वाचनहरूमा देखिएका हिंसा, मतदाता तर्साउने प्रयास, स्रोतसाधनको दुरुपयोग तथा असमान प्रतिस्पर्धाका घटनाहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँदै आएको तथ्यलाई नकार्न सकिँदैन । यस्ता कमजोरी दोहोरिन नदिन यसपटक सबै सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक छ ।

    निर्वाचन आयोगको भूमिका यस सन्दर्भमा अत्यन्त निर्णायक रहन्छ । संवैधानिक निकायका रूपमा आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन आफ्नो अधिकार र जिम्मेवारी दृढताका साथ प्रयोग गर्नुपर्छ । आचारसंहिता कडाइका साथ लागू गर्नु, सरकारी साधनस्रोतको दुरुपयोग रोक्नु, मतदाता र उम्मेदवारलाई समान व्यवहार सुनिश्चित गर्नु आयोगको कर्तव्य हो । आयोगको निष्पक्षता र प्रभावकारितामाथि नै निर्वाचनप्रतिको जनविश्वास निर्भर रहन्छ ।

    राजनीतिक दलहरू लोकतन्त्रका मुख्य आधारस्तम्भ हुन् । दलहरूले निर्वाचनलाई शक्ति प्रदर्शन वा प्रतिद्वन्द्वीलाई दबाउने माध्यमका रूपमा होइन, नीति, कार्यक्रम र दृष्टिकोणबीचको स्वस्थ प्रतिस्पर्धाका रूपमा लिनुपर्छ । हिंसा, उत्तेजक अभिव्यक्ति र विभाजनकारी राजनीति लोकतान्त्रिक मूल्यका विपरीत हुन् । मर्यादित प्रचार–प्रसार, कानुनको सम्मान र जनताको निर्णय स्वीकार गर्ने संस्कार विकास गर्नु राजनीतिक दलहरूको साझा दायित्व हो ।

    निर्वाचन अवधिभर सुरक्षा निकायको भूमिका पनि संवेदनशील र महत्वपूर्ण हुन्छ । नागरिकले निर्भीक भएर मतदान गर्न सक्ने वातावरण निर्माण गर्नु, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, डर वा दबाबलाई तुरुन्त नियन्त्रण गर्नु सुरक्षा संयन्त्रको जिम्मेवारी हो । सुरक्षा निकाय तटस्थ र निष्पक्ष रहन सकेमा मात्र निर्वाचनप्रति जनविश्वास कायम रहन्छ । मतदाता स्वयं लोकतन्त्रका वास्तविक संरक्षक हुन् । लोकतन्त्र बलियो बन्न नागरिक सचेत र जिम्मेवार हुन आवश्यक छ । डर, लोभ वा भ्रममा नपरी आफ्नो विवेक र स्वतन्त्र निर्णयका आधारमा मतदान गर्नु नागरिक कर्तव्य हो । मताधिकारको जिम्मेवार प्रयोगले मात्र सक्षम र जवाफदेही नेतृत्व चयन सम्भव हुन्छ ।

    गुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन सत्ता हस्तान्तरणको प्रक्रियामात्र होइन, लोकतन्त्रको सुदृढीकरण र भविष्यको दिशानिर्देशन हो । राज्यका निकाय, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा संयन्त्र र नागरिक—सबैको साझा प्रतिबद्धताबाट मात्र भय–रहित, निष्पक्ष र निर्धक्क निर्वाचन सम्पन्न भई लोकतन्त्रप्रति जनआस्था सुदृढ हुन सक्छ। यही अपेक्षा र चाहना आज सम्पूर्ण नागरिकको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार