२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

‘हाम्रो भविष्यका लागि’ पाँचखालमा वृहत् वृक्षारोपण


१६१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, जेठ २२ । विश्व वातावरण दिवस २०२६ को अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित भस्मे पाखा सामुदायिक वन क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। भस्मे पाखा सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा लवग्रीन नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएका छन्।

    यस वर्ष “Inspired by Nature. For Climate. For Our Future.” (प्रकृतिको प्रेरणा : जलवायुका लागि, हाम्रो भविष्यका लागि) भन्ने अन्तर्राष्ट्रिय नारासहित विश्व वातावरण दिवस मनाइरहँदा पाँचखालमा आयोजित कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौतीप्रति स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।

    कार्यक्रमअन्तर्गत ४० वटा चिउरी, ४० वटा रुख कटहर, १० वटा बेल, १० वटा अमला, १० वटा अम्बा, १० वटा तेजपात, १० वटा गुलाबजामुन, १० वटा अनार तथा १० वटा कल्कीका बिरुवा रोपिएको आयोजकले जनाएको छ। वन क्षेत्रलाई केवल हरियालीमा सीमित नराखी भविष्यमा स्थानीय समुदायको आयआर्जनसँग जोड्ने लक्ष्यका साथ फलफूल तथा आर्थिक महत्वका बिरुवालाई प्राथमिकता दिइएको बताइएको छ।

    कार्यक्रममा गोल्डेन फ्युचर माध्यमिक विद्यालय, पाँचखालका २० जना विद्यार्थी तथा एक जना शिक्षकको सहभागिता रहेको थियो। विद्यार्थीहरू लवग्रीन नेपालको बख्रेलडिही स्थित कार्यालयमा भेला भई विश्व वातावरण दिवसको महत्व, जलवायु परिवर्तनका असर, जैविक विविधता संरक्षण तथा वृक्षारोपणको आवश्यकताबारे जानकारी हासिल गराईएको थियो।

    वातावरण संरक्षणसम्बन्धी सन्देश बोकेका नारासहित विद्यार्थीहरू बिरुवा लिएर करिब एक किलोमिटर पैदल यात्रा गर्दै वृक्षारोपण स्थल पुगेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरणीय अभियानमा प्रत्यक्ष संलग्न भई प्रकृतिप्रतिको जिम्मेवारी र संरक्षणको महत्वबारे व्यावहारिक अनुभव प्राप्त गरेका थिए।

    वृक्षारोपण स्थलमा पुगेपछि विद्यार्थीहरू त्यहाँ उपस्थित करिब ६० जना वन उपभोक्तासँग सामूहिक रूपमा वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए। स्थानीय समुदाय, विद्यार्थी, शिक्षक तथा वातावरण अभियन्ताहरूको संयुक्त सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उत्साहजनक बनाएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै भस्मे पाखा सामुदायिक वन उपभोक्ता समितिका सचिव रमेश त्रिपाठीले सामुदायिक वनलाई दीर्घकालीन रूपमा आयमूलक वनका रूपमा विकास गर्ने उद्देश्यले फलफूल तथा बहुउपयोगी बिरुवाहरू रोपिएको जानकारी दिनुभयो। उहाँले लवग्रीन नेपालको सहयोगप्रति आभार व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षण, नियमित मलजल तथा आवश्यक हेरचाह गरी सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो, “वन संरक्षण मात्र होइन, वनबाट समुदायलाई आर्थिक लाभ दिलाउने हाम्रो लक्ष्य हो। आज रोपिएका बिरुवाले आगामी दिनमा वनको जैविक विविधता वृद्धि गर्नुका साथै स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिएका छौँ।”

    त्यसैगरी लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायणप्रसाद ज्ञवालीले वातावरण संरक्षणका गतिविधि कुनै एक दिनमा सीमित हुन नहुने उल्लेख गर्दै वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले भस्मे पाखा सामुदायिक वनका खाली रहेका क्षेत्रहरूमा आवश्यकताअनुसार थप बिरुवा उपलब्ध गराइने जानकारी दिँदै वातावरण संरक्षणमा स्थानीय समुदाय, विद्यालय र युवापुस्ताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

    “आज रोपिएका बिरुवा भविष्यका लागि लगानी हुन्। जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न र हरित वातावरण निर्माण गर्न यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ,” उहाँले भन्नुभयो।

    कार्यक्रम सम्पन्न भएपछि लवग्रीन जापानका सम्पर्क अधिकृत विमल दुलालले सहभागी विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी आफूहरूले प्राप्त गरेको सिकाइ, वृक्षारोपणको महत्व तथा प्रकृति संरक्षणमा युवापुस्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका थिए।

    दुलालले वातावरणीय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    विश्वव्यापी रूपमा जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा वातावरणीय प्रदूषण गम्भीर चुनौतीका रूपमा देखिइरहेका बेला पाँचखालमा आयोजित यस्ता कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ। सामुदायिक वन, विद्यालय र सामाजिक संस्थाबीचको सहकार्यले वातावरण संरक्षणलाई जनआन्दोलनका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

    स्थानीय समुदाय, विद्यार्थी, शिक्षक तथा वातावरण संरक्षणमा क्रियाशील संस्थाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले हरित वातावरण निर्माण, वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ, स्वस्थ र सुरक्षित वातावरण सुनिश्चित गर्ने अभियानलाई थप बल पुगेको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार