काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुपाटी क्षेत्रमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले जुवाको खालबाट नगद रकम, कौडा र ताससमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मिति २०८२ मंसिर ८ गते बिहान करिब २ः३० बजे शंखुपाटीस्थित एक घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा १६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले जुवास्थलबाट एक लाख ५१ हजारभन्दा बढी नगद रकम, १६ थान कौडा र एक बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका–१२ का ४९ वर्षीय बलराम थापा, ५२ वर्षीय श्रीकृष्ण थापा, २२ वर्षीय सुरज कुमार तामाङ, २६ वर्षीय सुमन श्रेष्ठ, ५० वर्षीय दिपेन्द्र बहादुर तामाङ, ४२ वर्षीय पूर्ण बहादुर तामाङ, ३० वर्षीय रामकृष्ण श्रेष्ठ, ३२ वर्षीय समन श्रेष्ठ, ४९ वर्षीय गणेश तामाङ, ३२ वर्षीय साजन श्रेष्ठ, ४६ वर्षीय भीम श्रेष्ठ, ३३ वर्षीय कुमार थापा, ३४ वर्षीय निर्मल बहादुर भुजेललगायत रहेका छन्।
त्यस्तै, बनेपा नगरपालिका–७ का ४३ वर्षीय कुमार तामाङ, ५२ वर्षीय राजेश लामा र नमोबुद्ध नगरपालिका–११ का ४२ वर्षीय धन बहादुर तामाङ पनि पक्राउ परेको प्रहरीको प्रेस नोटमा उल्लेख छ।
रातको समयमा गोप्य रूपमा जुवातास खेलिरहेको सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीले जिल्लामा जुवाजन्य गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको देखाएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै नियन्त्रण तथा निगरानी अभियानलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस