
– मधु आचार्य, केन्द्रीय सदस्य
काठमाडौंमा भएको नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलाले विधानसम्बन्धी प्रस्ताव पारित गर्दै गत वर्ष सम्पन्न विशेष महाधिवेशनको औचित्य र वैधानिकतालाई पुष्टि गरेको छ। साथै, क्रियाशील सदस्यताको वितरण तथा नवीकरणलाई प्रविधिमैत्री बनाउने प्रक्रियालाई समेत जायज ठहर गरेको छ। यस प्रस्तावलाई प्रस्तुत गर्ने तथा पारित गर्न सहयोग गर्ने सबै साथीहरू धन्यवादका पात्र हुनुहुन्छ।
गलत काम भएमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र संवैधानिक निकायका प्रमुखविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने संवैधानिक व्यवस्था भएझैँ, पार्टी नेतृत्वले ठीक समयमा उचित निर्णय लिन नसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिहरूलाई विशेष निर्णय गर्ने अधिकार हुन्छ। नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले गत वर्ष त्यही ऐतिहासिक जिम्मेवारी निर्वाह गरेका हुन्। अब विगतका विवादभन्दा माथि उठेर सबैलाई समेट्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने समय आएको छ।
पार्टी एकताको आवश्यकता र औचित्यमा कुनै प्रश्न छैन। तर केवल टाउका जोडेर गरिने एकताले मात्र कांग्रेस बलियो हुँदैन। एकतासँगै संख्या मात्र होइन, त्यसले दिने सन्देश, नीति, विचार र उद्देश्य पनि स्पष्ट हुनुपर्छ। कांग्रेस नवीन नीति, नयाँ चिन्तन, स्पष्ट मिसन र समयानुकूल एजेण्डाका लागि एकाकार हुनुपर्छ।
कांग्रेसले कांग्रेसभित्रका नेता–कार्यकर्तालाई मात्र होइन, जेन्जी पुस्ता, पार्टीबाहिर रहेका लोकतन्त्रप्रेमी नागरिक, पेशा–व्यवसायमा संलग्न वर्ग, बुद्धिजीवी, किसान तथा मेहनतकश श्रमिक सबैलाई जोड्न सक्नुपर्छ। बदलिएको समाज र पुस्ताको अपेक्षाअनुसार कांग्रेसको कार्यशैली, योजना र भूमिका पनि बदलिएको अनुभूति जनताले गर्न सक्नुपर्छ।
सभापति गगन थापाले निर्माण गर्नुभएको नयाँ ऊर्जा, जरा र जोसिलो सम्भावनालाई अझै मलजल गर्न आवश्यक छ। पार्टीको वास्तविक शक्ति भनेको तल्लो तहमा रहेका सदस्य र कार्यकर्ता हुन्। त्यसैले जगका पार्टी सदस्यलाई शक्ति हस्तान्तरण गरौँ र पार्टीका अधिकारलाई प्रभावकारी रूपमा तल्लो तहसम्म विकेन्द्रीकरण गरौँ।
हरेक निर्णय गर्दा निश्चित पद्धति र प्रणाली स्थापित गरौँ। भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पनि स्पष्ट मापदण्ड र प्रणालीका आधारमा गठन तथा परिचालन गरौँ। व्यक्तिको इच्छाभन्दा पार्टीको संस्थागत प्रणाली बलियो बनाऔँ। सबैलाई पुरस्कार र पदबाट मात्र सन्तुष्ट बनाउन सकिँदैन; न्यायपूर्ण पद्धति, पारदर्शिता र समान अवसरले मात्र संगठनमा विश्वास र सन्तुष्टि पैदा गर्छ।
नेपालको स्वतन्त्र न्यायपालिकाप्रति हामीले विश्वास गर्नुपर्छ। अदालतको गरिमा र अस्मिता न्यायमूर्तिहरूबाट हिजो पनि कायम राखिएको छ र भोलि पनि कायम रहनेछ। संविधानभन्दा माथि कोही छैन। संविधानले तोकेको समयसीमाभित्र विधिवत् महाधिवेशन सम्पन्न गर्ने दिशामा अब पार्टी प्रवेश गर्नुपर्छ। महाधिवेशन पार्टीको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अवसर पनि हो।
कतिपय विषयमा पार्टीले विभिन्न समयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ। तर समयको आवश्यकता र बदलिँदो परिस्थितिअनुसार केही विषयमा अझ स्पष्ट र दृढतापूर्वक बोल्नुपर्ने अवस्था छ। विशेषगरी ट्रेड युनियन अधिकार र विद्यार्थी हकहितका विषयमा कांग्रेस थप प्रस्ट हुनुपर्छ।
लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड मानिने ट्रेड युनियन अधिकार, कानुनी शासन तथा नागरिकका मौलिक अधिकारको संरक्षणका लागि नेपाली कांग्रेस दृढतापूर्वक उभिनुपर्छ। लोकतन्त्र केवल निर्वाचनको अभ्यास होइन; यो नागरिक अधिकार, स्वतन्त्रता, सामाजिक न्याय र विधिको शासनप्रतिको निरन्तर प्रतिबद्धता पनि हो।
अब कांग्रेसले विगतका विवाद र विभाजनलाई बोकेर होइन, नयाँ विचार, नयाँ ऊर्जा, नयाँ पद्धति र नयाँ एजेण्डासहित भविष्यतर्फ अघि बढ्नुपर्छ। पार्टीलाई बलियो बनाउने आधार गुट होइन, विचार हो; व्यक्ति होइन, संस्था हो; पद होइन, पद्धति हो। यही बाटोबाट कांग्रेसले आफूलाई पुनः जनताको भरोसाको केन्द्रका रूपमा स्थापित गर्न सक्छ।
– मधु आचार्य
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रतिक्रिया दिनुहोस