२०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

पाँचखालको रिसोर्टबाट ३६ चिनियाँ नागरिक नियन्त्रणमा, ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद


७६३३ पाठक संख्या
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित एक रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्ने स्थानीयको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पाँचखालबाट खटिएको ३० जनाको संयुक्त टोलीले सोमबार दिउँसो करिब ३ बजे ह्वाइट पार्क रिसोर्टमा चेकजाँच गर्ने क्रममा ३१ पुरुष र ५ महिलासहित ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ। रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेका छन्।

    घटनाको प्रकृति र उनीहरूको गतिविधिबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालयसँग प्राविधिक विज्ञसहितको थप टोली माग गरिएको छ।

    प्रहरीले नियन्त्रणमा लिइएका विदेशी नागरिकको गतिविधि, ल्यापटप तथा मोबाइलको प्रयोग र रिसोर्टमा उनीहरू बस्नुको उद्देश्यबारे अनुसन्धान अघि बढाउने तयारी गरेको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।

    पाँचखालस्थित प्रहरी चौकीबाट करिब तीन किलोमिटर पूर्वमा रहेको उक्त रिसोर्टमा ठूलो संख्यामा विदेशी नागरिक र विद्युतीय उपकरण फेला परेपछि घटनालाई चासोका साथ हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑